April 4, 2025

शोक वक्तव्य

यस फाउण्डेशनका एक महत्वपूर्ण सदस्य बिष्णु कुमार थङगम्बाको असामयिक निधनबाट हामी शोकसन्तप्त छौं ।

स्व.बिष्णु कुमार थङ्गम्बाको जन्म पाँचथर जिल्लाको साविक पञ्चमी गाविस – ९ (सिम्भुवा), हाल हिल्लीहाङ गाउँपालिका, मा सन् १९६५ सालमा भएको थियो । स्थानीय अमरपूर मा. बि. बाट १०औं कक्षा (सेण्ट अप) उत्तिर्ण गरेपछि उहाँ सन् १९८३ मा गोर्खा सैनिक सेवामा भर्ना हुनुभयो ।

२११६६१७४ राइफलम्यान बिष्णु प्रसाद थङ्गम्बा (लिम्बु) ले दशौं गोर्खा राइफल्समा १५ बर्ष सेवा गर्नुभयो । सन् १९९७ मा सेवानिवृत्त भए पछि दमक नगरपालिकामा स्थायी रुपमा वसोवास गर्न थाल्नुभयो । केही बर्ष फर्निचर तथा काष्ठ ब्यापारमा आँशिक सफलता हात पारेपछि उहाँ सन् २००० तिर पुनः वैदेशिक रोजगारमा लाग्नुभयो । सन् २००८ मा उहाँ बेलायत आउनुअघि अमेरिकामा सीपीङ सेक्युरिटी (पानीजहाजको सुरक्षा गार्ड) को रुपमा कार्यरत हुनुहुन्थ्यो ।छोराहरुको पढाई पुरा भए पछि आफ्नो पुरानो फर्निचर तथा काष्ठ ब्यापारलाई निरन्तरता दिन भनी आफ्नी श्रीमती चन्द्र कुमारी तावा र बयस्क छोराहरु गिर्वाण र रोशनलाई बेलायतमै रहन दिएर आफू गएको दुई बर्षदेखि नेपालमै रहन्दै आउनु भएको थियो ।

अन्तरमूखी स्वाभावका बिष्णु प्रसाद थङ्गम्बा इमान्दारिता र सदाचारको एक नमूना हुनुहुन्थ्यो । सन् २०१७ मा दिलमाया फाउण्डेशन स्थापना गर्नका लागि उहाँको सहयोग र सल्लाह महत्वपूर्ण रह्यो । स्व. थङगम्बा किराँत याक्थुङ चुम्लुङ यूके, ग्रेटर लण्डन शाखाको सदस्य पनि हुनुहुन्थ्यो ।

हिजो मिति ३० मे २०२० को साँझ सदा झैं साधारण भोजनपछि ओछ्यान लाग्नुभएको तर आज बिहान ९ बजेपछि पनि उहाँ शयन कक्षबाट बाहिर ननिस्केपछि उहाँलाई ओछ्यानमै मृत अवस्थामा देख्नु पर्यो । निदाएकै अवस्थामा हृदयघात भएको हुनसक्ने प्रारम्भिक अनुमान मात्र अहिले हामीसित छ ।

यस कठिन परिस्थितिमा हामी श्रीमती चन्द्र कुमारी तावा, छोराहरु गिर्वाण र रोशन अनि समस्त थङगम्बा परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौं । साथै समवेदना प्रकट गर्नुहुने सबै जनहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं । स्व. थङगम्बाको आत्माको शान्तिको कामना गर्दछौं ।

तागेरा निङवाभुमाङले हामी सबैलाई धैर्यधारण गर्ने शक्ति प्रदान गरोस् ।

खुशी लिम्बु
अध्यक्ष
साथै दिलमाया फाउण्डेशन परिवार
३१ मे २०२०, लण्डन

Regular Updates

Related News